दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आयो भने दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल आस्थामा (दम–खोकी) । श्वासनलीमा एलर्जी भएर सास फेर्न गाह्रो हुने अवस्थामा दम–खोकी अर्थात् ब्रोन्कियल आस्थामा भनिन्छ । यस्तो अवस्थामा श्वासनली साँघुरो हुने गर्छ । धुम्रपान गर्ने र धुँवा–धुलोमा लामो समय सम्पर्कमा आएका व्यक्तिमा भने कालान्तरमा सीओपीडी दम हुनसक्छ । यो धेरै मात्रामा देखिने दमको प्रकार हो । दमको कारण पनि फरक–फरक हुन्छ । सबैभन्दा बढी मात्रामा देखिने सीओपीडी दमको कारण धुम्रपान र वायु प्रदूषण हो । लामो समय धुम्रपान गरेका मान्छे वा धुम्रपान गर्ने व्यक्तिको नजिक बसेका मान्छे र धेरै वायु प्रदूषणको सम्पर्कमा आउने व्यक्तिमा यो दम हुन्छ । केही व्यक्तिमा वंशाणुगत कारणले पनि दमको जोखिम हुन्छ । वातावरणीय प्रदूषण, धुँवा धुलो, चिसो र विभिन्न प्रकारको एलर्जीको कारण दम–खोकी हुन्छ । धेरै धुँवा–धुलोमा काम गर्नुपर्ने व्यक्तिमा पेसागत जोखिमले पनि यसको जोखिम बढी हुन्छ । पहिले टीभी भएर वा निमोनिया भएर फोक्सोमा दाग भएका व्यक्तिमा पनि दम हुन्छ । केही व्यक्तिमा बाथको कारण फोक्सोमा समस्या भएर पनि दम हुन सक्छ । मुटु, किड्नी र रक्तअल्पता भएका बिरामीमा स्याँ स्याँ हुने र दमको समस्या हुन सक्छ । स्रोतः डा. अशेष ढुंगाना
Thursday, September 15, 2022
दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन
[ Back ]