काठमाडौँ एकपटक आत्मैदेखि प्रकृतिलाई सुनौं त । प्रकृतिले प्रत्येक समयमा बोलिरहेको हुन्छ र अनेक रंगहरुमार्फत आफ्ना भावहरु पोखिरहेको हुन्छ, ’ चित्रकार विनोद प्रधान प्रकृतिको आवाज सुन्न आग्रह गर्छन् । उनका लागि प्रकृति र यसैमा सिर्जित हिमाल, पहाड, खोलानाला, हरिया वनजंगल केवल सौन्दर्यका लागि मात्र होइनन् । मानव जातिका लागि प्रकृति आफैंमा सर्वाेच्च छ ।
प्रकृतिमै मानिसका लागि भगवान्, सिर्जनाका लहर, सभ्यता, संस्कृति र ज्ञानका भण्डार रहेको विश्वास राख्ने प्रधानले प्रकृति र सम्पदालाई एक पवित्र संसार, लोकका रुपमा कलामा चित्रण गरेका छन् । उनका लागि प्रकृति र यसैभित्र रहेका धार्मिक सम्पदाहरु पवित्र सम्पदाहरु हुन् । यी दुवै सुरक्षित र संरक्षित हुनुपर्छ भन्ने आवाज उनले कलामार्फत नै उठान गरेका छन् । प्रकृति र सम्पदाको सौन्दर्य, मर्म र अस्तित्वलाई झल्काउने उनका ढेड दर्जनभन्दा बढी कलाकृतिहरु अहिले बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । उनको यो ११ औं एकल कला प्रदर्शनी हो ।
स्रोतः कार्तिक २५, २०७९ सुशीला तामाङ, कान्तिपुर