एउटा अनौठो विवाह संस्कार थियो, थारू समुदायमा । विवाहका लागि छोरीचेली आदान-प्रदान हुन्थ्यो । जस्तो, आफूले जुन घरमा छोरी दिइयो सोही घरका छोरीचेलीलाई बुहारी बनाएर भित्र्याइन्थ्यो । तर, अहिले यो संस्कृति हराउँदै गएको छ । फरक घरबाट ल्याउने र फरक घरमा पठाउने गरेर अझै कतैकतै थारू संस्कारमा नै बिहे गर्ने गरिएको छ । गत २०७८ फागुन ६ गते दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवा गाउँमा थारू बिहे चल्दैथियो । बुवा रविलाल चौधरी र आमा छुकनी चौधरीकी छोरी गंगा चौधरी र छोरा व्यासमुन चौधरीको एकैदिन विवाह थियो । दिदी गंगा चौधरीको विवाह राप्ती गाउँपालिकाकै वडा नम्बर ७ अर्नहनपुरमा हुँदै थियो भने भाइ व्यासमुन चौधरीले राप्ती गाउँपालिका वडा नं. ६ को बगरापुरदेखि बेहुली ल्याउने कार्यक्रम थियो । दुवै विवाहका लागि थारू संस्कार अनुसार नै घरमा तयारी चलिरहेको थियो । अघिल्लो दिन बिहे घरमा आफन्तहरू जम्मा भइसकेका थिए । जम्मा भएका गाउँले आ-आफ्ना काममा व्यस्त देखिन्थे । बिहे घरमा एक्काइस घरधुरीबाट प्रत्येक घरका दुई जनाको दरले जम्मा हुँदै थिए । कोही आउने क्रम जारी थियो । आउँदा महिलाहरूले घरमा उब्जेको तरकारी छिटुवामा ल्याउने चलन रहेछ । जम्मा भएका महिलाहरू भित्री काममा व्यस्त देखिन्थे भने पुरुष आँगनमा चन्डोला र डोली बनाउँदै थिए । अघिल्लो दिन जम्मा भएकाहरूका लागि भान्छामा कतै रोटी त कतै भात पाक्दै थियो । आफन्त भन्दा पनि गाउँले नै धेरै जम्मा भएको देखिन्थे । ‘पहिला पहिला गाउँभरिको झलारीहरू जम्मा भएर बिहेभोजको काम गर्ने गरिथ्यो । अहिले त्यो चलन हरायो । नजिकका गोत्यार छिमेकीहरू मिलेर समूह बनाएका छौं । त्यही समूहबाट जम्मा भएर यस्ता काम टार्ने गरेका छौं’, राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवाका महतवा भीमबहादुर चौधरीले भने । उनका अनुसार झलारी नै हटेको त हैन तर समूहबाट नै चल्ने भएकोले यसरी उनीहरूले फरक तरिका भए पनि काम गर्दै आएका छन् ।
स्रोतः कुलदीप न्यौपाने / २०७९ वैशाख १७ गते १९:२२ अनलाइनखबर